काठमाडौं । शिवकैलाश कला मन्दिरको आयोजनामा नेपाल-भारत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसका उपलक्ष्यमा टोखा नगरपालिका-३ स्थित शिवकैलाश कला मन्दिरको आयोजना र कोलकाता, भारतस्थित दिलीप थापा डान्स एकेडेमीको सहयोगमा नेपाल-भारत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कला मन्दिरका अध्यक्ष नारायण रिजालको निर्देशनमा नेपालका र एकेडेमीका नृत्यनिर्देशक दिलीप थापाद्वारा प्रशिक्षित भारतका नर्तक-नर्तकीले भर्चुअल नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट कला मन्दिरका तर्फबाट राष्ट्रिय भावनायुक्त थाली नृत्य तथा झ्याउरे, तामाङ सेलो र झोडा नृत्य प्रस्तुत गरिएको थियो ।
कोलकाता, हावडाबाट रवीन दासले रवीन्द्र संगीत, दिलीप थापाले भाङ्डा, हावडाकी सृष्टि चौधरीले भरत नाट्यं, विशाखा पटनमकी पहेल जोशीले राजस्थानी, कोलकाताकी मयूरी वासुले बंगला, हावडाका निशित र हर्षित साउले डाण्डिया नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कला मन्दिरका रोशन बुढाथोकीले नृत्य समन्वय, बुटिक एन्ड ड्रेस सेन्टर ठमेलका रेनुका रिजालले भेषभूषा र प्रज्ञान एकेडेमीका फाउन्डर प्रिन्सिपल महेश पाण्डेले प्राविधिक सहयोग गर्नुभएको थियो । सो अवसरमा नेपाल-बंगलादेश मैत्री संघका अध्यक्ष दीनदयाल रिजालले संस्कृतिको रक्षा र पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रमको महत्व हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, कला मन्दिरका संरक्षक हरि पाठक र इन्डियन पब्लिक स्कुल, हावडा कोलकाताका डाइरेक्टर र बम्बै डिफेन्स एकेडेमीका प्रिन्सिपल सन्दीप डेले दुई देशलाई साहित्य, धर्म, इतिहास, संस्कृति आदिले जोडेको जनाउँदै कोभिड महामारीका बेला र अन्य समयमा पनि सम्बन्धलाई बढावा दिन आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
हेर्नुहाेस् तस्विर