काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्राटिक्सबुक तथा प्रश्नपत्रको संगालोको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्राटिक्सबुक, प्रश्नपत्रहरुको संगालोलगायतका सामग्रीहरु छपाइ तथा बिक्री वितरण गर्न रोक लगाएको हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।
यो निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको भन्दै अब स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरु प्रकाशन गर्न, बिक्रीवितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन नपाइने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कार्तिक २० गते गरेकाे सोही निर्णयकाआधारमा केन्द्रले निर्देशिका संशोधन गरेको हो । सरकारले यसअघि नै परीक्षा लक्षित गेसपेपर र गाइडहरुमाथि प्रतिबन्ध लगाएको थियो ।