भाद्र २२, काठमाडौं । पढेर ठूलो मान्छे बन्ने सपना देखेका रवि अहिले कोठाको शैय्यामा दिनहरु बिताउँदै सहयाेगी हातहरुकाे पर्खाइमा बस्न बाध्य भएका छन् ।
श्री चन्द्रविन्दु स्कुल बसुन्धाराबाट एस.इ.इ पास गरेर साइपाल कलेजमा कक्षा १२ मा अध्ययनरत रवि टोखा नगरपालिका, बसुन्धारा चौकीमा लामो समय देखि बसोबास गर्दै आएका छन् । १९ बर्षिय रवि रसाइलीको विगत डेढ बर्ष देखि दुवै मृगौलाले काम नगर्ने भए पछि लामो समय देखि डायलासीस गर्दै आएका छन् । ज्याला मजदुरी गरेर खान पर्ने रविको परिवारलाई अहिले छोराको उपचार मात्र हैन खानलाई समेत धौ धौ परिरहेको छ । लामो लकडाउन र काम नभए पछि घरभाडा कसरी तिर्ने, कसरी छोराको उपचार गर्ने र कसरी खाने भन्ने ठूलो चिन्तामा परिवार रहेको छ । रविको उपचारको लागी आफन्त चिनजानका सबैसंग हात फैलाईसकेका रसाइली परिवार हात फैलाउने ठाउँ समेत बाँकी नभएपछि के गर्ने र कसो गर्ने भन्ने पिरलो परेको बताउँछन् ।
रविको उपचार कसरी गराई रहनु भएको छ भन्ने प्रश्नमा रविका बुबा भक्कानिँदै भन्छन् डायलासिस हाम्रो आफ्नै खर्चमा सकि नसकी गराईरहेका थियौँ । सरकारले निशुल्क गराउँछ भन्ने पनि सुनेका थियाैँ तर गरिवको लागी हैन रहेछ जस्तो लाग्यो । अहिले आयूर्वेदिक औषधि खुवाई रहेका छाैँ । त्यो पनि साह्रै नै महंगो हुदो रहेछ । यो औषधी खाए पछि रगतको रीपोर्ट पनि अली राम्रो आएको ले सुधार हुन्छ भन्ने आशा जगाएको छ । यदि मृगौला नै फेर्न पर्ने भयो भने त त्यो हाम्रा लागी मर्नु को विकल्प नै रहँदैन, यति धेरै खर्च कसरी हामीले व्यवस्था गर्न सक्छौँ र ? नियमित आयुर्वेदिक औषधी खाइ रहेका रविलाई चिकित्सकहरुले पोषिलो खानेकुरा खानुपर्ने बताइरहँदा दुई छाक खान समेत नपाउने अवस्थामा पुगेको यो परिवार सहयोगी हातहरुको पर्खाइमा छन् ।
सहयाेगकाे लागि: ९८४०६०२५४८ (रविका बुबा)