भाद्र ११, काठमाडौैं । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ अन्तर्गत बागमती, गुल्मी र अर्घाखाँचीका लायन्स क्लबको पदाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको कारण सिर्जित जटिल अवस्थालाई दृष्टिगत गर्दै सम्पूर्ण क्लबका पदाधिकारीहरुको पदस्थापन समारोह भर्चुअल माध्यमबाट जूम मार्फत गरिएको हो । लायन्स क्लबको नयाँ कार्यकाल हरेक अंग्रेजी बर्षको जुलाई महिनाबाट सुरु हुने गर्दछ । उक्त पदस्थापन कार्यक्रममा डिस्ट्रिक्ट अन्तर्गतका २७४ वटा क्लबका पदाधिकारीहरुलाई डिस्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोका ले पदस्थापन गराउनुभएको थियो ।
हामी सेवा गर्छौँ भन्ने मूल नारालाई आत्मसाथ गर्दै मानवीय सेवाका उत्कृष्ट कार्यहरु सम्पादन गर्दै आईरहेको लायन्स डिस्ट्रिक्ट ३२५ बी १, विश्वमा नै अग्र स्थानमा छ । सेवा कार्यकै क्रममा लायन्स क्लबले संयुक्त रुपमा कोरोनाको विपत्तिमा प्रभावित हरुको घर घरमै पुगेर राहत वितरण गर्नुका साथै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत विभिन्न समयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
डिस्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोकाका अनुसार हाल नेपालभर कुल १४२१ लायन्स क्लब र ३५४७५ भन्दा बढी सदस्यहरु रहेका छन् भने डिस्टिक्ट ३२५ बी १ मा मात्र ५०५ क्लब र १३००० भन्दा बढी सदस्यहरु आबद्ध छन् । डिस्ट्रिक्टका अन्य क्लबहरुको पदस्थापन समारोह धौलागिरी क्षेत्रको भाद्र ८ गते र गण्डकी क्षेत्रको भाद्र ९ गते सम्पन्न भएको थियो ।