धनबिरे गाउँमा हुर्केको मान्छे
मीठो बोल्न आउँदैन उसलाई
सिधा अनि सोझो छ ऊमिठ
बिष घोल्न आउँदैन उसलाई
परिश्रमको पर्याय हो ऊ
काम ठग्न आउँदैन उसलाई
राम्रोलाई राम्रो भन्छ
नराम्रोलाई नराम्रो
चुक्ली आउँदैन उसलाई
अस्ति ऊ अलसतलस बिरामी हुँदा
छिमेकी टिकाराम बाजेले
अस्पताल पुर्याएका थिए आफैले बोकेर
पोहोर साल टिकाराम बाजे लड्दा
औधी गाह्रो भा थिएन उसलाई
ऊ एउटा पर्याय हो सच्चा नेपालीको
ऊ नाकको आकार लम्बाई हेर्दैन
आँखाको चौडाई र गहिराई हेर्दैन
शरीरको बनावट र रङ्ग हेर्दैन
हेर्छ त केवल
सदाचार
सहकार्य
स्वच्छता
समानता
अनि इमान जमान
उसका चर्चरी फुटेका हत्केलाहरुमा
मेहनतको दसी नै दसी भरिएको छ
उसको पैतालाका धाँजाहरुमा
देशको सिमाना कोरिएको छ
उसका निधारका चाउरिएका रेखाहरुमा
विकासका सम्भावनाहरु कोरिएको छ
उसका सुकेका ओँठहरुमा
सिङ्गो देश मुस्कुराएको छ
उसले आफ्नो ढाकरमा
सिङ्गो देश बोकेको छ
उसका तोप्चेहरुमा
देश गर्वका साथ उभिएको छ
उसको फाटेको मैलो टोपी माथि
सुकिलो देश बाँचिरहेको छ
त्यसैले
धनबिरे देशको पर्याय हो
बिभेदरहित समाजको आदर्श हो
बोल्न नजाने पनि
ऊ एउटा रिचा हो
ऊ महाभारत अनि गीता हो
तृपिटक अनि मुन्धुम हो
बाइबल अनि कुरान हो
किनभने ऊ बोलिरहेको छ
उसका सुकर्महरुमा
ऊ बोलिरहेछ
उसका निश्कपट ब्यबहारहरुमा
धनबिरे गाउँमा हुर्केको मान्छे
चिल्लो दल्न आउँदैन उसलाई
दिनरात पसिना पोख्छ
कहेल्यै गल्न आउँदैन उसलाई
ऊ आफै भूगोल हो
बाटो बदल्न आउँदैन उसलाई।
उसलाई होच्याएर
अरुले धने भने पनि
धनबिरे भने पनि
म उसलाई सम्मान गर्छु
म उसको सुकर्म देखेर नतमस्तक हुन्छु
किनभने ऊ
ब्यबहारको धनी धनबीर
मनको धनी मनबीर
सत्कर्मको धनी कर्मबीर
एउटा ठेट नेपालीको प्रतिनिधि पात्र
✍️✍️ प्रेम राई परीक्षित
बसाहा,उदयपुर
हाल काठमाण्डौ

