जीवन भए/नभएको बुझ्न नासाले मंगल ग्रहमा पठायो यान

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहका लागि यान पठाएको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा फ्लोरिडाको केप क्यानाभेरलबाट उक्त यानले जमिन छोडेको छ।

यो महिनामा मात्रै मंगल ग्रहका लागि उडेको यो तेस्रो यान हो। यसअघि संयुक्त अरब इमिरेट्स (युएई) र चीनले मंगल ग्रहका लागि यान पठाएका थिए।

अमेरिकाले पनि केही हप्ताअघि नै यान मंगल ग्रहमा पठाउने योजना बनाएको थियो तर कोरोनाभाइरसको लकडाउन र केही प्राविधिक कारणले समय केही साता पर धकेलिएको हो।

प्रसिभिरेन्स (दृढता) नाम दिएको उक्त यानले मंगल ग्रहमा करोडौं वर्ष पहिलाको जीवनको अध्ययन गर्ने बताइएको छ।

यो यानको लक्ष्य मंगल ग्रहको उत्तरी ध्रुवमा रहेको जेजेरो भन्ने ठाउँमा पुग्नेछ। उक्त ठाउँमा पहिला एउटा ताल रहेको खुलेको छ।

यदि मंगल ग्रहमा कुनै बेला जीवन थियो भने त्यसको संकेत गर्न सक्ने यो महत्वपूर्ण ठाउँ भएको वैज्ञानिकहरूको विश्वास छ।

उक्त यान साढे ६ महिनापछि मंगल ग्रहमा पुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *